ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, May 11, 2025

आफ्नो महत्व चिनौ


एक दिन माली आफ्नो बगैचामा पुग्यो । तर अचम्म त्यहाँ पूरै रुख बिरुवाहरू निराश थिए । डिलमा रोपिएको धुपी सल्लाले निन्याउरो मुख लगाउँदै भन्यो- माली ज्यू, म अब मर्दैछु । माली ले सोध्यो- किन, किन मर्दैछौ? किन बाँच्नु त, आखिर सल्ला भन्दा अग्लो हुन पाए पो बाँच्नुको सार हुन्छ । माली सल्लाको नजिकै गयो, सल्ला पनि खुसी थिएन, सल्लाले भन्यो- माली ज्यू, लालुपाते जस्तै रङ्गीन फूल फुल्न पाए पो बाँच्नुको सार हुन्छ, यसरी बेरङ्गी भएर के बाँच्नु ? मत अब मर्ने सोच्दैछु । माली लालुपाते नजिकै गयो, लालुपाते पनि खुसी थिएन निराश चेहरामा लालुपातेले भन्छ- अङ्गुर जस्तै रसिलो फल दिन पाए पो बाँच्नुको औचित्य हुन्छ, यस्तो फल बिनाको फुलको के काम, शायद म केही दिनमा संसार छोडेर जान्छु होला । ऊ अङ्गुरको नजिकै गयो, अङ्गुरको पनि हालत खराब थियो, मसिनो स्वरमा अङ्गुरले बोल्यो,धुपी जस्तै सधैं हरियो भएर उभिन पाए पो बाँच्नुको अर्थ हुन्छ, यस्तो लहरो भएर अरूको भरमा के जिन्दगी जिउनु ? शायद एक दुई दिन पनि हजुरले मलाई यहाँ देख्न पाउनुहुन्न । माली दिक्क भयो, एकै छिनमा उसले भुइँतिर हेर्यो भुइँमा दुँबो मज्जा सँज मौलाएको थियो, दूबो अरु जस्तो दुखी र निराश पनि थिएन । मालीले दुबोलाई सोध्यो तिमी किन खुसी छौ, बगैचाका अरू बोट बिरुवाहरू त निक्कै दुखी छन त ? दूबोले मुसुक्क हाँस्दै भन्यो- म खुसी छु किनकी मैले कहिलै पनि आफूलाई अरूसँग तुलना गर्दिन । म जस्तो छु त्यस्तैमा खुसी छु र आफू हुनुमा म गर्व गर्छु । मलाई लाग्छ कि मालीले मलाई रोप्ने निर्णय गरे किनकी उनले मबाट केही चाहन्थे, यदी उनले धुपी,लालुपाते,अङ्गुर अथवा गुलाव चाहेका भए त मेरो ठाउँमा तिनै रुख रोप्नु पर्ने नि,किन मलाई नै रोपे ? किनकी मसँग त्यस्तो कुरा छ जो अरूसँग छैन । यसर्थ म अरू जस्तो बन्न खोज्दिन। म जस्तो छु त्यस्तै बनिरहन्छु र यसैमा म खुसी पनि छु । जब म जे होइन त्यो बन्न खोज्छु, त्यो आफ्नै बिनास निम्त्याउने सोच बाहेक अरू केही होइन । तिमी जस्तो छौ त्यही स्वरुपमा स्वीकार गर्छौ र आफ्ना गुण तथा विषेशताहरू लाई मलजल गर्छौ भने तिमी संसारकै उक्रिष्ट सिर्जना बन्छौ, जब तिमी अरूको नक्कल गर्न खोज्दछौ तिमी कहिलै पनि सन्तुष्ट र उत्कृष्ट बन्न सक्दैनौ । भनिन्छ नि  नमिठो आवाज नै भए पनि आवाजमा आफ्नो मौलिकता भएकाले काग सधैं स्वतन्त्र हुन्छ तर तर अरूको आवाज नक्कल गर्न खोज्ने सुगा सधैं पिञ्जडामा कैद हुनुपर्छ । आफू जे होइन त्यो बन्न खोज्ने बहानामा कैयौँले आफ्नो वास्तविक स्वरुपको हत्या गरिरहेका छन । जब लालुपाते लालिगुराँस बन्न खोज्दछ तब नत त्यो लालीगुराँस बन्छ नत लालुपाते नै रहन्छ ।

Designed By Basanta Subedi