एउटा किसानको सुन्दर मकैबारी थियो । त्यस मकैबारीमा एक भँगेराले गुँड बनाएर आफ्ना बचेँरा हुर्काइरहेको थियो । समय बित्दै गयो, मकै बाली पनि बिस्तारै छिप्पिएर स्याहार्ने बेला हुन थाल्यो । एक दिन भँगेराको बच्चाले आफ्नी आमालाई भने-" आमा आमा, अब त किसानले मकै बाली स्याहार्ने बेला पनि भयो अब हामी गुँड छोडेर टाढा जानु पर्छ है । अब हामी यहाँ बस्नु सुरक्षित हुन्न ।" कुरा सुनेर आमा भँगेरीले भनी-" छोरा छोरी हो तिमीहरू न आत्तिओ । किनकी अहिले नै गुँड छाडी हाल्नु पर्ने जरुरी छैन ।"
त्यो दिन आमा भँगेरी चारा खोज्न गई । दिउँसो किसान मकैबारीमा आयो र भन्यो-"भोलि मेरा सबै छिमेकिहरूलाई बोलाएर मकै बाली स्याहार्नु पर्यो ।" बच्चाहरूले किसान बोलेको सुने,उनिहरूलाई पूर्ण विश्वास भयो कि आफूहरूले आमालाई गुँड सर्न दिएको सुझाब शत प्रतिशत ठीक छ । तैपनी आमाले किन गुँड सर्ने बेला भएको छैन भनेकी होलिन । उनिहरू अचम्म परे । बेलुकी आमा आइन बचेँराहरूले सुनाए-"आमा आमा, किसानले भोलि छिमेकिहरू बोलाएर मकै स्याहार्ने भनेको छ, हामी अब ठाउँ छोड्नु पर्छ ।" आमा भँगेरीले प्रतिप्रश्न गरी-"छिमेकी ??" बचेँराले भने "अँ ।"
आमा भँगेरी आज पनि ढुक्कका साथ बोली-"तिमीहरू न आत्तिओ छोराछोरी हो,अहिले नै गुँड सर्नु पर्ने कुनै जरुरी छैन ।" नभन्दै भोलिपल्ट किसानले हिजो भने बमोजिम कोही पनि छिमेकी मकै स्याहार्न आएनन । केही दिन पछी फेरि किसान बारीमा आएर बर्बरायो - "अब त साह्रै ढिला भयो, भोलि सबै आफन्त र दाजुभाइहरूलाई बोलाएर मकै बाली स्याहार्नु पर्यो ।" भँगेराका बचेँराले किसानका कुरा सुने । साँझ आफ्नी आमालाई सँग बिन्ती गरेँ-"आमा आमा, अब त अति भो । किसानले आज आफन्त र दाजुभाइ बोलाएर बाली काट्ने भनेको छ । अब हामी यहाँ बस्नु हुन्न । छिटो भन्दा छिटो गुँड छोडेर जाऔँ ।" भँगेरीले प्रतिप्रश्न गरी "दाजुभाइ र आफन्त ??" बचेँराले भने-"अँ ।"
आमा भँगेरी मुस्कुराएर भनी-"चिन्ता नमान छोराछोरी हो जे भए पनि म तिमीहरूकी आमा हुँ, के मैले कुरा बुझ्दिन होला र ? के म लाटी छु होला र ? लेखेर राख कि भोलि कोही पनि बाली काट्न आउनेवाला छैन, त्यसैले अहिले नै भागेर कतै जानु जरुरी छैन, ढुक्क भएर सुत ।" बच्चाहरूले कुरै बुझ्न सकेनन आमाको ।
२/४ दिन पछी फेरि किसान बारीमा आयो र हात टाउकोमा राख्दै बर्बरायो-"अब त अति भो, कसैले पनि मलाई मद्दत गर्न आएनन, अब भोलि आँफैले मकै बाली स्याहार्न सुरु गर्नु पर्यो ।"
बेलुका बच्चाहरूले आमालाई सुनाए-"आमा आमा भोलि त किसान आँफै बाली काट्न आउने भनेको छ , के अझै हामी गुँड छोडेर जाने बेला भएको छैन ?" यो चोटि आमा भँगेरीले ठूला ठूला आँखा बनाई र भनी -"ए हो र ? त्यसो पो भन्यो किसानले ? भनेपछी भोली ऊ आँफै आउने रे ? लौ लौ तयार होउ, अब चाँही साँच्चिकै गुँड छोड्ने बेला भयो ।" नभन्दै भोलि पल्ट्ट किसानले सबै मकैका बोट एक एक काटेर बाली भित्र्याउन थाल्यो भने उता भँगेराको परिवारले पनि आफ्नो गुँडलाई बिहानै अन्य सुरक्षित स्थान तर्फ सारिसकेको थियो। यो सबै घटनाक्रम नजिकबाट देखेका भँगेराका बच्चाहरू आफ्नी आमाले बुद्धिमता पूर्वक चालेका कदमहरूका साक्षी थिए । उनिहरूले जिज्ञासा पूर्वक सोधे -"आमा आमा, तपाईंले छिमेकी र दाजुभाइ बाली भित्र्याउन आउँछन भन्दा पत्याउनु भएन तर किसान स्वयम आउछु भन्दा किन पत्याउनु भयो ?" आमा भँगेरिले हाँस्दै जवाफ दिई, -"छोरा छोरी हो हामीले कहिलै पनि अरुको बाटो कुर्नु हुन्न अरुको आशामा बस्ने मान्छेले प्राय: धोका र निराशा सिवाय केही पाउदैन तर जसले आँफै सकृयता देखाउँछ र आफ्नो पाखुरीमा विश्वाश गर्छ हो त्यसैले मात्र आँटेको काममा सफलता पाउँछ । मलाई थाहा छ नि यी मान्छेहरू कति धोकेवाज हुन्छन भन्नेकुरा । मैले धेरै पटक देखेको छु कि कुनै काम गर्नको लागि अरुको बाटो मात्र हेरिरहने, अरुको मात्र मुख ताकिरहने । अरुले गरिदेला र खाउँला भनेर बस्ने आफूले चाँही सिन्को पनि नभाच्ने मान्छेले आखिरीमा निराशाको उपहार बाहेक अरु केही पाउदैन । जसले आफूलाई साथ दिन्छ उसलाई इश्वरले पनि साथ दिन्छन । " आफ्नी आमाको कुरा सुनेर भँगेरीका बच्चाहरू दङ्ग परे ।
हो, हामी अरुको भर पर्नु पर्छ तर अरुको मात्र भर पर्नु हुन्न । ख्याल गर्नुस् है मेरो भनाइमा भिन्नता छ । हामी अरुको भर पर्नु पर्छ तर अरुको मात्रै भर पर्नु हुन्न । मुख्य कुरा त आफू हो ।जब सम्म आँफै सकृयता देखाइदैन तब सम्म केही पनि काम हुन सक्दैन । आँफै होला या त अरुले गरिदेला भनेर पर्खेर मात्र बस्ने हो भने केही पनि हुनेवाला छैन । आफ्नो लागि आँफै तम्तयार हुनुपर्छ,आफै उठ्नुपर्छ,आँफै जुट्नुपर्छ । तिम्रो पेटको लागि अरुले खाइदिएर पुग्दैन, तिम्रो स्वास्थ्यका लागि अरुले योगा गरिदिएर हुँदैन,तिम्रो शरीरको लागि अरुले जिम गरिदिएर हुँदैन । तिम्रो रोगको लागि अरुले अस्पतालमा सुतेर हुँदैन । अनि तिम्रो भबिश्यको लागि अरुले चिन्ता लिएर हुन्छ त ? तिमी आँफैले चिन्ता लिनु पर्छ , तिमी आँफैले प्रयास गर्नु पर्छ । शक्तिशाली जङ्गलको राजा भनेर के गर्नु प्रयास नगरेसम्म त सिंहकै मुखमा पनि शिकार आएर पस्दैन । मिहिनेत नै नगरिकन सित्तैमा मुखमा आउने त केवल झिङा मात्र हो । झिङा... सफलताको लागि त मिहिनेत गर्नु पर्यो नि भाई आँफैले ।