ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, August 20, 2017

‘नभएको माक्र्सवाद पढिएछ’ चैतन्य मिश्र

विश्वविद्यालयबाट अवकाश पाएपछि समाजशास्त्री चैतन्य मिश्रको भूमिका होलटाइमर रिडरमा बदलिएको छ । त्रिवि एमफिलका विद्यार्थीलाई सातामा एक दिन कक्षा लिनेबाहेक उनी बिहान ९ बजेदेखि बेलुकी पाँच बजेसम्म पढिरहन्छन्, जस्तो कि एउटा मानिस अफिस जान्छ र फर्कन्छ । मिश्रसँग उनको पठनयात्रा र अनुभूतिबारे बसन्त बस्नेतले गरेको कुराकानीको सार :
म मानिसहरूका लागि पढ्ने या पढाउने काम मुख्य हँुदैन । मेरो भने व्यवसाय नै सिक्ने भयो ।
मलाई पढ्नैका लागि भनेर तलब दिइएको हो । अरूका लागि पढ्न भनेर पैसा दिइँदैन । के पढ्छस् भनेर कसैले सोधे मलाई असजिलो लाग्छ । किनकि मेरो अध्ययनको झन्डै ४० प्रतिशत जर्नलमा बित्छ । आज संसारभरि बौद्धिक विमर्शको मूल माध्यम जर्नल भएको छ, किताब होइन । २५–३० पृष्ठका जर्नल लेख पढ्न कहिलेकाहीं सिंगै दिन लाग्छ । पढ्ने भनेको सर्सर्ती पढ्ने होइन । लेखिएको कुरालाई आफ्नो जीवन, समाज, इतिहाससँग भिडाउँदै पढ्ने हो । आलोचनात्मक दृष्टिबाट हुने अध्ययनले मात्रै पाठक खारिन्छ । पहिले विद्वान् कहलिन, विद्यावारिधि हुन मोटो थेसिस लेख्नुपर्ने अवस्था थियो । अब तीनवटा जर्नल लेख पुग्ने भएको छ । अझ एउटा उच्च श्रेणीको जर्नलमा छापिने लेख, अनि दुईवटा लेखको खाका बुझाएपछि राम्रो युनिभर्सिटीको पीएचडी सम्भव छ । आम पाठकका लागि किताब महत्त्वपूर्ण हो, तर विशिष्टीकृत बौद्धिक विमर्शको बाटो किताब होइन । त्यसैले हिजोआज एउटा लेखकको ठेलीभन्दा पनि धेरै जनाले लेखेको सम्पादित पुस्तक प्रचलित छ । वा, आफ्नै ८–१० लेख संकलन गरी छाप्ने प्रचलन आइसक्यो । अहिले जर्नल खोज्न सजिलो छ । इन्टरनेटको ‘जेस्टोर’ मा सर्च गर्‍यो भने पाँच वर्षअघिका झन्डै ९० प्रतिशत जर्नल पाइन्छन् । मँसग विश्वविद्यालयको आईडी पनि छ । पाँच वर्षयताका जर्नलचाहिँ उनीहरूले आर्थिक आयका लागि बिक्रीमा राखेका हुन्छन् । तर पाँच वर्षअघिका जर्नल पढ्नु सामान्यत: पर्याप्त हुन्छ । मैले विचार गरिरहेको कुरा ठीक हो कि होइन भनी जाँच्न पुस्तकले सघाउँछ । मैले कही कुनैको घटनाबारे पढ्नेबित्तिकै मेरो दिमागमा झ्वाट्ट आउने प्रश्न हो, त्यस्तै प्रकृतिको घटना अन्यत्र देशका कहीं भएको छ ? वा यहींकै समाजमा यसअघि पनि भएको छ कि ? इभेन्टभन्दा प्याटर्नमा मेरो रुचि हो । भर्खरै आएको ‘सुन साइँली’ गीतले मलाई सुगौली सन्धितिर पुर्‍यायो । विदेश र यहाँको पुस्तक भनेर छुट्याउँदिनँ, विश्वकै भागहरू हुन् भनेर पढ्छु । नेपालमा अखबार, म्यागजिन र अनलाइन पढ्छु । विदेशीमा द न्युयोर्क टाइम्स र गार्डियन पढ्छु । 
पाठ्यपुस्तक
पाठ्यपुस्तकका बारेमा मानिसहरूका विभिन्नखाले टिप्पणी सुनिन्छ । पाठ्यपुस्तक जग हो, त्यसका आधारमा अरू पढ्दै जाने हो । विषयवस्तु बुझ्न वा त्यसको व्यापकतामा जान साथीभाइको सिफारिस, इन्टरनेटको समीक्षा पढिएला, तर प्रथमत: पाठ्यपुस्तक नै पढ्ने हो । हरेक वर्षको जाँच दिनु छ भने पाठ्यपुस्तक नपढी काम छैन । किनकि त्यो विषयवस्तु पढ्नैपर्ने भएकाले नै पाठ्यपुस्तकमा हालिएको हो । पाठ्यपुस्तकसँग नमिल्ने, जुध्ने कुराहरू लेखिएका छन् भने तिनलाई पछि पढ्ने हो । पास गर्ने, काम खोज्ने, पाउने आधारभूत कुरा हो । डिग्री लिने भनेको काम पाउनैका लागि हो । काम नपाउने हो भने जिन्दगी नै विशृंखल हुन्छ ।  हाम्रोमा ज्ञान लिने र काम दिने विषय भनी कहिलेकाहीं छुट्याएर बहस गर्ने गरिन्छ । मानविकी र प्राविधिक विषय यसमा पर्छन् । तर एउटा गर्दा अर्को नगर्ने भन्ने होइन । अर्थशास्त्र वा राजनीतिशास्त्र पढेर काम नपाउने अवस्था किन सिर्जना हुनु ? पहिलो त धेरै मानिसहरूले सोसल साइन्स पढिरहनुपर्दैन । हाम्रोमा मात्रै होइन, संसारैभरि सोसल साइन्स बढी संख्याले पढ्ने अवस्था बन्यो । त्यसो गरिरहनु आवश्यक छैन । दोस्रो, निजी क्षेत्र वा सरकारीमै पनि समाजशास्त्री, अर्थशास्त्रीकै हैसियतमा जागिर दिऊँ न । लोकसेवा आयोगमै किन शाखा अधिकृत, सुब्बा वा उपसचिव भन्नु ? हुकुमी शासन सिद्धिएपछि ब्युरोक्रेसीको उद्भव भयो । शासनमा जनताले चुनेको प्रतिनिधि, प्रशासनमा विज्ञ । ब्युरोक्रेसी भनेकै विज्ञको शासन हो । उसले जे पढेको हो, देशले त्यसबाट फाइदा लिनुपर्‍यो । हुलाकबाट भन्सार, मालपोतबाट सिँचाइ : हाम्रोमा जताबाट जता पनि पुर्‍याउने गलत प्रथा बस्यो । विज्ञता विकास गर्न अध्ययनको भूमिका छ ।
पुस्तक कति हो, कति होइन ?
पुस्तक पढ्ने हो, तर पुस्तक मात्रै पढ्ने होइन । पुस्तकमार्फत समाज नै पढ्ने हो । सबै समाज एक्लै पढेर सकिन्न । आफू जन्मिनुअघिको समाज कसरी पढ्नु ? आफू जानै नसक्ने समाज कसरी पढ्नु ? म अस्ट्रेलिया गएको छैन । पुस्तक हुन्थेन भने त्यो बुझ्न गाह्रो हुन्थ्यो । पुस्तकको भूमिका यहाँ आउँछ । अनि आँखाले देखेका कतिपय कुरा सत्य हुँदैनन् । सतहमा देखिएको होला, तर किताबले गहिराइमा देख्न सिकाउँछ । पाँच ज्ञानेन्द्रियलाई रिजनिङ गर्ने सामथ्र्यका लागि किताब चाहिन्छ । किताबी ज्ञान यथेष्ट नहोला, तर नपढ्नेहरूका लागि पढ्नेहरूलाई गिज्याउने बहानाका रूपमा यो तर्क आएको देखिन्छ । मै अमेरिकामा पढेर आउँदा एकथरी बुज्रुगले भने, ‘अमेरिका पढेर हुन्छ ? नेपाल पो बुझ्नुपर्छ ।’ उनीहरूले पनि नेपाल बुझ्ने लेठो भने गरेको देखिएन । पुस्तक सबैथोक होइन, तर गुड ‘सब्स्टिच्युट’ हो । युट्युब, टीभी, सिनेमाजस्ता माध्यमहरू सिक्नकै लागि हुन् । श्रीकृष्णका १०८ गुरु भन्थे । गुरु अनन्त छन् । म पुस्तकबाट आएकाले त्यसको मोह बढी छ । पुस्तक फोहोर नगर्नू भन्थे, मेरो पुस्तकचाहिं हेरिसक्नु हुँदैन । किनकि म पुस्तकसँग डाइलग (कुराकानी) गरिरहेको हुन्छु । पाठपिच्छे मेरा टिप्पणीहरू हुन्छन् । कलम, सिसाकलमले कोरिहाल्छु । पछि दोहोर्‍याएर हेर्दा झन्झट पनि लाग्छ । रिटायर्ड भएपछि मेरो पढ्ने मुख्य समय बिहान ९ देखि बेलुकी ५ भएको छ । बेलुकी सुत्ने बेलामा अलि–अलि पढ्नेबाहेक म अरू बेला पढ्दिनँ । अनलाइनले पनि समय खान थालेको छ । राति ‘लाइट रिडिङ’ हुन्छ । कतिपय साथीहरू प्रोफेसर तहको मानिसले पपुलर रिडिङ गर्नु हँुदैन भन्छन् । तर म पहिलो स्रोतका रूपमा निरन्तर विकिपिडिया गइरहन्छु । त्यसपछि गुगल स्कलर वा जर्नलतिर जाने बानी छ ।
सोसल मिडिया
म सोसल मिडिया चलाउँदिनँ । अनलाइनहरूमा व्यस्त हुँदा पुस्तक पढ्ने समय गुमाइरहेको हुँला । त्यसमा धेरै दु:ख भने लाग्दैन । सबै पुस्तक पढ्ने होइन, ‘सेमिनल’ पुस्तकहरू पढ्ने हो । अनि विचार बनाउने हो । विचार यसै बन्दैन । आफूले पहिले पढे, बुझेको समाजसँग विचारहरू भिडाउने हो । श्रीमतीको फेसबुक हेर्छु, ट्वीटरमा अकाउन्ट नभए पनि अरूको हेर्न मिलिहाल्छ । ट्वीटर हेर्दा मैले त्यहाँ गाली गर्ने, कुण्ठा पोख्नेहरू मात्रै धेरै देखें । त्यस्तोचाहिँ म बेहोर्न सक्दिनँ कि जस्तो लाग्यो । अस्ति जीवन क्षत्री आएका थिए, ‘सेन्सरी ओभरलोड’ भएजस्तो लागेर बन्द गरें भन्थे । सधैं हेरिरहूँजस्तो लाग्ने, फलानोले मेरो लाइक/रिट्वीट गर्‍यो कि गरेनजस्तो लागिरहने भएर बन्द गरेको हुँ भन्थे । केही कुरामा झ्वाट्ट प्रतिक्रिया दिइन्छ, त्यसले पछि पछुतोभाव आउँछ । कतिपय कुरा सुन्दा रिस उठ्छ, गाली गर्न मन लाग्छ । व्यक्तिगत तहमा आरोप–प्रत्यारोपमा ओर्लन मन लाग्दैन । मैले एकपल्ट बाबुराम भट्टराईलाई लेखमार्फत गाली गरेको छु । नत्र मानिसभन्दा दल, प्रवृत्ति आदि बारे टिप्पणी गर्ने हो । पछि हेर्दा आफैंलाई ग्लानि होलाजस्तो लागेर । मैले आधारभूत रूपमा पढ्ने इतिहास नै हो । नेपालबारे पढ्न महेशचन्द्र रेग्मी, धनवज्र बज्राचार्य, लुडविग स्टिलर, ज्ञानमणि नेपाल, कमलप्रकाश मल्ल, प्रयागराज शर्मा पढ्छु । इतिहास नलेखे पनि तीर्थबहादुर श्रेष्ठ, प्रदीप गिरि, कनक दीक्षित मैले पढ्ने लेखक हुन् । पपुलर हिस्ट्री पढ्दाचाहिं तिनको सीमा बुझ्दै पढ्नुपर्ने हुन्छ । आफैं सहभागी भएका प्रसंगसमेत कतिपय हुन्छन् । राजेश गौतम, सुरेन्द्र केसी पढ्दा बेफाइदाभन्दा बढी फाइदा नै हुन्छ । बाहिरचाहिं कार्ल माक्र्स, मेघनाद देसाई, अमत्र्य सेन, थोमस पिकेटी आदि मैले पढिरहने लेखक हुन् । पुस्तक पढ्दा मैले ख्याल गर्ने मूल पक्ष कर्ता र संरचना हो । कर्ता एकातिर, इतिहास र संरचना अर्कातिर हुँदैन । कति म गर्छु, कतिचाहिं मलाई इतिहास र संरचनाले बोल्न लगाइरहेको छ । एजेन्सी निकै महत्त्वपूर्ण प्रश्न छ । म मेरो समाज र इतिहासभन्दा कति हदसम्म स्वतन्त्र छु त ? मेरो प्रगाढ रुचि यसमा छ । गीतामा कृष्णले अर्जुनलाई भन्छन्— तिमीले गरे या नगरे पनि लडाइँ हुन्छ । मान्छे मर्ने नै हुन् । यो इतिहास र संरचनावादी भनाइ हो । अर्काथरी छन्— पृथ्वीनारायण शाहले नै बनाएका हुन् या बिगारेका हुन् भन्ने । यो व्यक्तिको कुरा हो । व्यक्तिले सम्पूर्ण गरेको हो भन्ने विवाद अझै जारी छ । पृथ्वीनारायण मात्रै होइन, हिजोअस्तिसम्म प्रचण्डमै सबैथोक छ भनिन्थ्यो । तर प्रचण्ड नै कसरी जन्मे ? माक्र्स कस्तो बेला जन्मे ? के भएर उनीजस्ता मान्छे जन्मिए ? योचाहिं कृष्णको जस्तो कुरा भयो, इतिहास र संरचनाको आधारमा मूल्यांकन गर्ने । यो मेरा लागि चाखलाग्दो कुरा छ । त्यस्तै घरपरिवार किन बन्छन्, के कारणले परिवर्तन हुन्छन् ? समग्र लोकतन्त्रीकरणको क्षेत्रमा मेरो अध्ययन जारी छ । अर्कोचाहिं, संसारको पुँजीवादी केन्द्र एसियामा सर्दैछ । चीन र भारत यसका मुख्य भाग हुन् । त्यहाँको परिवर्तनले नेपाललाई के गर्छ, त्यो प्रभाव नेपालमा कत्तिको भित्रन्छ भन्ने कुरा पनि मेरा लागि रुचिको अध्ययन हो ।
अन्धताबाट उज्यालोतिर 
अहिले सम्झँदा लाग्छ— जीवनको एउटा कालखण्डमा अत्यन्तै सोभियताइज्ड र माओवाइज्ड माक्र्सवाद पढिएछ । रूस र चीनको आँखाबाट माक्र्सवाद पढिएछ । लेनिन र माओका आँखाबाट पढिएछ । तर माक्र्सकै आँखाबाट चाहिं कम पढिएछ । यसको कारण छ । माक्र्सका बारेमा लेखिने जति पनि पुस्तक थिए, सोभियत संघ र चीनबाट छापिएका थिए । त्यसैले अलि–अलि जालझेल त्यहीं भएछ । के प्रकाशित गर्ने, नगर्ने, तिनको अर्थ के लगाउने, तिनको हातमा थियो । प्रगति प्रकाशन, रादुगा प्रकाशन आदि सस्तोमा किताब छाप्ने प्रकाशन थिए । त्यसपछि सोभियत कम्युनिस्ट पार्टीका, चीनको कम्युनिस्ट पार्टीका, अनि यहाँको कम्युनिस्ट पार्टीका साहित्य पढियो । त्यो अध्ययन यस्तो विकृत ढाँचामा गरिएछ— नभएको माक्र्सवाद पढिएछ । दुई नम्बरी माक्र्सवाद पढिएछ । एउटा खेद यो लाग्छ । यसले निकै समय खायो । अर्को पनि पछुतोभाव छ : जुन पढाइमा आफू इमोसनल्ली लागिन्छ— त्यसले गलत ठाउँमा पुर्‍याउँछ । समिर अमिन भन्ने एक जना अर्थशास्त्री छन् । उनी मलाई पहिले एकदमै मन पर्ने लेखक थिए । अहिले मैले छोडें । चार जना विद्वान् छन् । तीमध्ये अमिनबाहेक इम्मानुयल वालेस्र्टायन्, जियोभानी अरिघी, एन्ड्रे गुन्डर फ्रान्क अझै पढ्छु । समिर अमिनचाहिं पार्टीवाला मानिस रहेछन् । बौद्धिक त हुन्, तर कम्युनिस्ट पार्टीको बारेमा प्रश्नै नगर्ने । यी तीन जनाचाहिं प्रश्नकर्ताहरू परे । बौद्धिकतामा हुन नहुने अन्धता अमिनमा देखियो । १९८६ मा अन्डरडिभलपमेन्टबारे लेख्दै गर्दा मैले जे विश्लेषण गरें, त्यो ठीक थियो । तर पढाइ र नेपालप्रति एक किसिमको अन्धताले बिगार्‍यो । नेपालप्रति यति धेरै माया भयो कि, त्यसले मलाई गलत ठाउँमा पुर्‍यायो । मैले विश्लेषण ठीकै गरेको थिएँ, तर नेपालले कुन प्रकारको नीति लिनुपर्छ भन्ने विषयमा पनि गलत ठाउँमा पुर्‍यायो । त्यो गल्ती हुनमा समिर अमिनका सोचाइहरूको पनि सहयोग हुन सक्छ । माओले भनेका थिए, ‘झ्यालढोका सबै खुला राख्नु हुँदैन । हुरीले सबै उडाएर लैजान सक्छ, आफैंलाई पनि ।’ चाहिने जत्ति ढोका खोल्नू, सकेसम्म बन्दै गर्नू भन्ने उनको भनाइ थियो । यी सबै कुराहरूको जन्जालमा परेर अरू देशसँगको बन्द–व्यापार ज्यादै न्यून गर्नुपर्ने, यही नै उत्पादन गर्नुपर्छ भन्ने राष्ट्रवादी विचार थियो । अहिले मोदीको छ नि, त्यस्तो मेरो पनि थियो । जेलाई हामी लेफ्ट वा कम्युनिस्ट भन्छौं, लेनिन, स्टालिन र अझ माओको कम्युनिज्म भनेको खासमा राष्ट्रवाद नै हो । त्यसबेला युरोपेलीहरूको उपनिवेश थियो, त्यसबाट कसरी मुक्त हुने भन्ने विचार माओको हो । त्यसैले त्यो कम्युनिज्म कम, राष्ट्रिवाद बढी थियो । एउटा कालखण्डसम्म नेपालका कम्युनिस्ट पार्टीहरूले त्यो विचार बोक्नु गलत थिएन । तर बोकिरहने बानीचाहिं गलत भयो । म यो किसिमको विचारबाट कसरी निस्कें भन्नेबारे एउटा कथा छ । सिंगापुर विकसित हुँदै गयो । दक्षिण कोरिया, हङकङ विकास हुँदै गयो । थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया सबै बिस्तारै बिस्तारै विकास हुँदै गए । कम्युनिस्ट भनाउँदाको बोली सुक्यो । त्यहा विकासै हुँदैन, जो महाशक्ति छन्, ती मात्रै महाशक्ति भइरहनेछन् भन्ने खालको विचार थियो कम्युनिस्टको । उता डाँडापारिको सूर्य हेर्ने कुरा निश्चय नै महत्त्वपूर्ण हो, तर त्यहाँसम्म पुग्ने बाटो नबनाउने ? अझै पनि मेरा विद्यार्थीहरू जाँचमा लेख्छन्– पुँजीवाद भनेको धनीलाई झन् धनी बनाउने, गरिबलाई झन् गरिब बनाउने व्यवस्था हो । तर यी देशहरूका उदाहरण हेर्‍यो, त्यो व्याख्या मिल्दैन । मान्छे धनी भइरहेको छ । तर रोजगारी पनि दिएको दियै छ । उत्पादन भएको भयै छ । अनि मेरो मनमा प्रगाढ शंका जन्मियो । त्यसपछि मैले फेरि माक्र्स पल्टाएँ । माक्र्सले त त्यसो भनेकै रहेछन् । माक्र्सले त राज्यको होइन, बजारको वकालत गरेका रहेछन् । राज्य भनेको दुई–चार जना राजनीतिज्ञले चलाउने हो, अरूलाई पेल्ने हो, बरु क्यापिटलिस्टहरू इतिहासको एउटा कालखण्डका सबैभन्दा क्रान्तिकारी हुन् त माक्र्सले नै भनेका छन् । अब मेरो काम के भयो भने नेपाल अहिले कुन विन्दुमा छ त ? पुँजीवाद हाम्रा लागि क्रान्तिकारी हुन्छ कि प्रतिक्रियावादी हुन्छ ? मैले ५०–१०० वर्षपछिको निक्र्योल गर्नु परेन, अहिलेको विन्दुमा पुँजीवाद के हो ? त्यसपछि म निष्कर्षमा पुगें— अहिलेको नेपालका लागि लेनिनको त्यो बुझाइ काम लागेन । मैले यसबारे दुईवटा लेख लेखेको पनि छु । लेनिनको १९१६ मा लिखित ‘इम्पेयरलिज्म, द हाइएस्ट स्टेज अफ् क्यापिटलिज्म्’ पुस्तकमा भनियो, ‘पुँजीवाद टुप्पामा पुगिसक्यो, अब यसको झर्नेबाहेक अरू विकल्प छैन । हामी मिलेर यसलाई धकेलौं ।’ तर पुस्तक निक्लेपछिको यो सय वर्षमा पुँजीवाद ओर्लेको छैन । पुँजीवाद अनेक कमजोरी सुधार्दै उकालो लाग्यो, बरु त्यसो भन्नेहरू नै ओर्लिए । विचारको नाममा यस्तो गाजा खाइएछ । माक्र्सका सीमा बुझ्छु, तर उनीप्रति लगाव कम भएको छैन । माक्र्सको सीमा— उनी अति युरोपेली थिए । त्यो हुने नै हो । हामी सोसियोलोजी अफ् नलेज भन्छौं । ज्ञान प्रकृतिले हालिदिने, देवताले दिने होइन । बाआमा, स्कुल, समाजले हामीलाई ज्ञान दिने हो । पुस्तक, अखबारले मलाई यी विचारहरूको नजिक पुर्‍याए, तर तिनैले मलाई गलत बुझाइहरूबाट मुक्त हुन बाटो दिए । अहिले सिद्धान्तका कुरा पढ्दै छु । सञ्जीव उप्रेतीले त्यसमा ‘सार्विक’ ‘सर्वस्थानिक’ जस्ता शब्द प्रयोग गर्नुभएको छ । सर्वकालीन र सर्वस्थानिक भन्ने अर्थलाई एक ठाउँ ल्याउन सार्विक भन्नुभएको होला । सार्विक केही हुँदैन, सबै ऐतिहासिक हुन् । इतिहासको एउटा खण्डमा निश्चित कुरा हुन्छन् । मानव अधिकार सार्वकालिक होइन । लोग्नेले तीन स्वास्नी राख्नु वा स्वास्नीले तीन लोग्ने राख्नु सधैं खराब देखिन्न । खास कालमा मात्रै गल्ती हो । म यस्तो निष्कर्षमा पुग्दै छु । त्यसैले आइसोलेटेड सूचनामा भर पर्नु हुँदैन, प्याटर्न खोज्ने हो । समानता भिन्नता खोज्नु भनेको प्याटर्न हेर्नु हो । रूख खोज्ने, तर जंगलमा विश्वास नगर्ने, जंगल हेर्ने, तर रूखमा विश्वास नगर्ने गरियो भने क्लासिक्स एकातिर इभेन्ट एकातिर भइदिन्छ । त्यसको मध्यस्थान खोज्ने हो भने प्याटर्नमा जानुपर्छ । ब्रेक्जिट भयो, ट्रम्प आए भने ग्रीस र अन्यत्रका घटनासँग त्यसलाई केलाएर हेर्नुपर्छ ।
प्रकाशित: श्रावण १४, २०७४
Designed By Basanta Subedi