ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Wednesday, September 6, 2017

लघु उद्यम, लघुबित्त र वित्तीय सहकारी

लघुवित्त को अवधारणाको विकास सन् १९८३ मा मोहम्मद युनुसले वंगलादेशमा ग्रामीण बैंकको स्थापना गरी सञ्चालन गरे सँगै भएको मानिन्छ । उनले ग्रामीण बैंकको रुपमा बंगलादेशमा लघुवित्तको सफल अभ्यास गरेको आधारमा २००६ को नोवेल पुरस्कार समेत प्राप्त गरेका छन् । यसै अवधारणा ल्याटिन अमेरिकी देशहरुमा एसिओन र भारतमा सेवा बैंकले गरीब समुदायमा वित्तीय सेवाको पहुँच बढाउँदै आयआर्जनको र  लघुवित्तको माध्यमबाट अवलम्बन गरेको पाइन्छ । 

लघुवित्त सेवाको प्रवाह चार किसिमका स्रोतहरुबाट हुने गरेको छ । ग्रामीण वा लघुवित्त विकास बैंकहरु, सहकारी संघसंस्थाहरु, गैरसरकारी संस्थाहरु र साहु महाजन तथा पसलेहरु । सहकारी संघ संस्थाहरुको पहुँचमा विस्तार हुँदै गएपछि र समुदायको स्व–व्यवस्थापनमा निर्णय गर्ने अधिकार समेत स्थानीय समुदायमा रहने आधारमा विगतका वर्षहरुमा विकासोन्मुख देशहरुमा सहकारी संघसंस्थामार्फत लघुवित्त कार्यक्रमहरु परिचालन गर्ने प्रचलन बढ्दै गएको हो । 

लघुवित्त अन्तर्गत गरिएको कर्जा लगानीको असुली दर ९७ देखि ९९ प्रतिशतसम्म रहेको पाइन्छ । यसका लागि सहकारी संस्थाहरु प्रभावकारी माध्यम हुने अभ्यासबाट प्रमाणित भएको छ । विशेष गरी सहकारी संस्थाहरुको पहुँच जनताको घरदैलोसम्म रहेको हुन्छ । यसले बचतको सुविधा समेत दिएको हुन्छ । जबकी गैरसरकारी संस्थाहरुले लघुवित्त कार्यक्रम अन्तर्गत कर्जा लगानीको काम मात्र गर्दछन् । सहकारी संस्थाहरु स्वयम्सेवी प्रकृतिका हुन्छन् । सहकारीहरु सामान्यतया पूँजी निर्माणका लागि अन्य निकायमा भर पर्दैनन् । सदस्यहरुको दीगो आर्थिक क्षमता निर्माणमा गराउन आय आर्जनका क्रियाकलापहरु वा लघु उद्यम / व्यवसायहरुको सञ्चालनले यिनको योगदान प्रभावकारी रहेको हुन्छ । सहकारी संस्थाहरुको सञ्चालनमा ज्यादै कम लागत भएकोले सहकारी संस्थाहरुमार्फत लघु उद्यम / लघुवित्त कार्यक्रमको सञ्चालनमा गरीब समुदाय थप लाभान्वित हुन्छन् । समुदायकै व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्दा जनसहभातिा जुटाउन पनि सहकारीलाई ज्यादै सजिलो हुन्छ ।

वित्तीय कारोबार गर्ने सहकारीहरुमा समेत सामान्य सहकारीमा झैं नियमित अनुगमनको अभाव, कुशल व्यवस्थापनको कमी आदि समस्याहरु हुने गर्दछन् । त्यस्तै लघुवित्त कार्यक्रममा लागत बढी लाग्ने साथै बाह्य पूँजी भएकाले चर्को व्याजका कारण गरीब वर्ग झन गरीब बन्ने गरेको आधारमा लघुवित्त व्यवसायको आलोचना पनि भएको पाइएको छ । सहकारीमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दा धेरै पक्षहरुको विश्लेषण वा ध्यान पुर्याउनु पर्ने हुन्छ । सहकारीको व्यवस्थापन सहकारीका सिद्धान्त तथा मूल्यहरु, प्रचलित सहकारी र सम्बन्धित कानुनहरु र वित्तीय कारोबारका मापदण्डहरु बमोजिम सञ्चालन भएको हुनु पर्दछ । सहकारीहरुले आफ्नो कारोबारको अनुगमन र सुपरीवेक्षणका लागि आन्तरिक र बाह्य प्रणालीलाई बलियो बनाएको हुनु पर्दछ । आन्तरिक नियन्त्रणका लागि लेखा समितिको प्रभावकारी भूमिका आवश्यक छ भने बाह्य परीक्षणका लागि योग्य र निर्भिक लेखापरीक्षकको नियुक्ति अपरिहार्य हुन्छ । ऋण मात्र दिने काम नै लघुवित्त अभियानको कामजोर पक्ष हो भन्ने कुरा बुझ्न आवश्यक छ । सदस्यहरुको आर्थिक जीवनस्तर उकास्न सकेसम्म कम व्याजदरमा कर्जा उपलब्ध हुने र स्वरोजगारमूलक व्यवसाय गरी कर्जाको साँवा व्याज चुक्ता गरी केही बचत गर्ने अभ्यास गराइएन भने सदस्यहरुको आर्थिक अवस्थामा दीगो सुधारको सम्भावना कमजोर बन्दछ । 

उद्यमशिलता, लघुवित्त र सहकारी सम्बन्धिका क्रियाकलापहरु सञ्चालन गर्दा पूँजीको आवश्यकता भएको खण्डमा आफ्नो गाउँघर वरपर के कस्ता वित्तीय संस्थाहरु छन् सोको समेत विश्लेषण गरी आफूलाई अनुकूल हुने वित्तीय संस्थामा कारोवार गरी अघि बढेको खण्डमा अवश्य पनि आफ्नो निर्णयप्रति सन्तुष्ट हुन सकिन्छ ।

Designed By Basanta Subedi