एकपटक एउटा फर्निचर व्यवसायीलाई एउटा कुशल काठ काट्ने मिस्त्रीको आवश्यकता पर्यो। कामका लागि दुईजना मिस्त्रीले आवेदन गरे, र व्यवसायीले तीमध्ये एकलाई छनोट गर्नुपर्ने भयो। कसलाई रोज्ने भनेर निर्णय गर्न व्यवसायीले एउटा सानो प्रतिस्पर्धा आयोजना गरे।
व्यवसायीले दुवै जनालाई एक-एकवटा बन्चरो दिँदै भने, "तिमीहरूले १५ मिनेटभित्र यो काठको मुढा काट्नुपर्छ। जो कुशलतासाथ काम गर्छ, उसलाई म जागिर दिन्छु।"
पहिलो प्रतिस्पर्धीले बन्चरो उठाए, र तुरुन्तै काठ काट्न थालिहाले। उनी जोरले बन्चरो चलाउँदै फटाफट काम गर्न लागे। उनको आत्मविश्वास उच्च थियो, किनकि केही मिनेटमै आधा मुढा काटिसकेका थिए। दोस्रो प्रतिस्पर्धी, भने, सुरुमा काठ काट्न लागेनन्। उनी शान्त भावले बन्चरो धार लगाउन थाले। करिब १० मिनेट बन्चरो धारिलो बनाउनमै बिताए।
पहिलो प्रतिस्पर्धीले निरन्तर परिश्रम गरिरहे, तर दोस्रो प्रतिस्पर्धीको ध्यान भने धारिलो बन्चरो बनाउनमा थियो। १० मिनेटपछि, जब उनको बन्चरो अत्यन्तै धारिलो भयो, उनले छिट्टै काठ काट्न थालिहाले। अब, उनले केहि मिनेटमै मुढा सहजै काटेर सकिसके, जबकि पहिलो प्रतिस्पर्धीको बन्चरो भने धमिलो भइसकेको थियो, र उनले काठ पूर्ण रूपमा काट्न सकिरहेका थिएनन्।
अन्ततः, व्यवसायीले सुझबुझ, धैर्यता, र तयारीलाई महत्त्व दिएर दोस्रो प्रतिस्पर्धीलाई जागिर दिए।
यस कथाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ: सफलता मात्र कठोर परिश्रमले प्राप्त हुँदैन, यसको लागि सिप, सुझबुझ, र पूर्व तयारीको महत्त्व धेरै हुन्छ। धेरै पटक, हामी प्रतिस्पर्धा गर्न या परीक्षा दिन तात्तिन थाल्छौँ, तर तयारीको सही रणनीति बनाउँदैनौं। धारिलो बन्चरो बिना, कति नै समय र शक्ति खर्चिए पनि सफलता दूर रहन्छ।
आफ्नो प्रतिस्पर्धामा अग्रता लिनका लागि, यसरी तयारी गर्नु जरुरी हुन्छ:
1. समय व्यवस्थापन: समयको महत्त्व बुझ्नुहोस्।
2. स्वास्थ्यको ख्याल: मानसिक र शारीरिक रूपमा आफूलाई तयार गर्नुहोस्।
3. आवश्यक सामग्रीको सङ्कलन: सही उपकरणले काम सजिलो बनाउँछ।
4. योग, ध्यान, र प्राणायाम: तपाईंलाई शान्त र फोकस गराउँछ।
5. सही पाठ्यक्रम र प्रशिक्षकको छनोट: सही दिशा आवश्यक छ।
सफल व्यक्तिहरूका कौशल र रणनीतिहरू सिकेर, तपाईं पनि आफ्नो जीवनका प्रतिस्पर्धाहरूमा बाजी मार्न सक्नुहुन्छ। सफलतामा आफूलाई तेज बनाउनुहोस्, धैर्यता राख्नुहोस्, र सही तयारी गर्न कहिल्यै नचुक्नुहोस्।
विजयादशमीको शुभकामना ! दुर्गा भवानीले तपाईँको मार्गमा विजयको रेखा खिचून्।
२०८१ आश्विन १९ गते शनिवार