एउटा सिंगो ऋतु निदाएर ब्युँझिएझैँ
यी केराका कोशाहरू,
अहिले पहेंलो घामका स-साना थुँगा बनेका छन्।
यी त केवल फल होइनन्,
माटोले सिर्जना गरेको स्वादको जीवित विम्ब हुन्।
हिजो शीतका थोपाहरूले,
यसको कलिलो आवरणमा जीवनको अक्षर कोरेका थिए।
अहिले पाकेको यो पहेंलो रूप
कुनै मन्दिरको गजुर जस्तै चम्किलो,
र आमाको ममता जस्तै कलिलो देखिन्छ।
समयको थकाई बोकेर,
आफैंभित्र मिठास गुम्साएका यी थुँगाहरू,
धर्तीले मानव ओठका लागि सजाएको
एउटा सुन्दर र रसिलो मुस्कान हो।
हरेक औंला जस्ता यी कोसाहरूमा,
पसिनाको सुगन्ध र माटोको कथा लुकेको छ।
बाहिर समयका केही काला टाटाहरू छन्
जसले जीवनको अनुभव र परिपक्वता बोल्छन्,
तर भित्र,
सबै तीतो बिर्साउने एउटा श्वेत अमृत शान्त बसेको छ।
यो त भोक मेट्ने आहार मात्र कहाँ हो र?
यो त धर्तीले आकाशलाई दिएको,
एउटा सुन्दर र स्वादिलो कृतज्ञता हो।
मिति : २०८३ भाद्र २२ गते सोमवार
काठमाण्डौ, नेपाल
