⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

अध्यावधिक

सन्दर्भ लेख हरु

समाज

Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Thursday, July 9, 2026

सफल व्यक्तिहरूका कौशल र रणनीतिहरू

एकपटक एउटा फर्निचर व्यवसायीलाई एउटा कुशल काठ काट्ने मिस्त्रीको आवश्यकता पर्‍यो। कामका लागि दुईजना मिस्त्रीले आवेदन गरे, र व्यवसायीले तीमध्ये एकलाई छनोट गर्नुपर्ने भयो। कसलाई रोज्ने भनेर निर्णय गर्न व्यवसायीले एउटा सानो प्रतिस्पर्धा आयोजना गरे।


व्यवसायीले दुवै जनालाई एक-एकवटा बन्चरो दिँदै भने, "तिमीहरूले १५ मिनेटभित्र यो काठको मुढा काट्नुपर्छ। जो कुशलतासाथ काम गर्छ, उसलाई म जागिर दिन्छु।"


पहिलो प्रतिस्पर्धीले बन्चरो उठाए, र तुरुन्तै काठ काट्न थालिहाले। उनी जोरले बन्चरो चलाउँदै फटाफट काम गर्न लागे। उनको आत्मविश्वास उच्च थियो, किनकि केही मिनेटमै आधा मुढा काटिसकेका थिए। दोस्रो प्रतिस्पर्धी, भने, सुरुमा काठ काट्न लागेनन्। उनी शान्त भावले बन्चरो धार लगाउन थाले। करिब १० मिनेट बन्चरो धारिलो बनाउनमै बिताए।


पहिलो प्रतिस्पर्धीले निरन्तर परिश्रम गरिरहे, तर दोस्रो प्रतिस्पर्धीको ध्यान भने धारिलो बन्चरो बनाउनमा थियो। १० मिनेटपछि, जब उनको बन्चरो अत्यन्तै धारिलो भयो, उनले छिट्टै काठ काट्न थालिहाले। अब, उनले केहि मिनेटमै मुढा सहजै काटेर सकिसके, जबकि पहिलो प्रतिस्पर्धीको बन्चरो भने धमिलो भइसकेको थियो, र उनले काठ पूर्ण रूपमा काट्न सकिरहेका थिएनन्।


अन्ततः, व्यवसायीले सुझबुझ, धैर्यता, र तयारीलाई महत्त्व दिएर दोस्रो प्रतिस्पर्धीलाई जागिर दिए।


यस कथाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ: सफलता मात्र कठोर परिश्रमले प्राप्त हुँदैन, यसको लागि सिप, सुझबुझ, र पूर्व तयारीको महत्त्व धेरै हुन्छ। धेरै पटक, हामी प्रतिस्पर्धा गर्न या परीक्षा दिन तात्तिन थाल्छौँ, तर तयारीको सही रणनीति बनाउँदैनौं। धारिलो बन्चरो बिना, कति नै समय र शक्ति खर्चिए पनि सफलता दूर रहन्छ।


आफ्नो प्रतिस्पर्धामा अग्रता लिनका लागि, यसरी तयारी गर्नु जरुरी हुन्छ:


1. समय व्यवस्थापन: समयको महत्त्व बुझ्नुहोस्।


2. स्वास्थ्यको ख्याल: मानसिक र शारीरिक रूपमा आफूलाई तयार गर्नुहोस्।


3. आवश्यक सामग्रीको सङ्कलन: सही उपकरणले काम सजिलो बनाउँछ।


4. योग, ध्यान, र प्राणायाम: तपाईंलाई शान्त र फोकस गराउँछ।


5. सही पाठ्यक्रम र प्रशिक्षकको छनोट: सही दिशा आवश्यक छ।


सफल व्यक्तिहरूका कौशल र रणनीतिहरू सिकेर, तपाईं पनि आफ्नो जीवनका प्रतिस्पर्धाहरूमा बाजी मार्न सक्नुहुन्छ। सफलतामा आफूलाई तेज बनाउनुहोस्, धैर्यता राख्नुहोस्, र सही तयारी गर्न कहिल्यै नचुक्नुहोस्।


विजयादशमीको शुभकामना ! दुर्गा भवानीले तपाईँको मार्गमा विजयको रेखा खिचून्।


२०८१ आश्विन १९ गते शनिवार 

Read more ...

Wednesday, July 8, 2026

कमजोरी लाई बदलौ अवसरमा

धेरै समय अगाडीको कुरा हो । कुनै गाउँमा एक किसान बस्दथ्यो । उक्त गाउँमा पानीको समस्या रहेकाले प्रत्येक दिन किसानले एउटा लठ्ठीको २ तर्फ २ वटा गाग्री झुन्ड्याएर टाढा बाट पानी ल्याउने गर्दथ्यो । तर एउटा गाग्रीको बिचभागमा सानो प्वाल भएकाले बाटोमा पानी चुहिएर बिगत २ बर्षदेखि घर पुग्दा जम्मा डेढ गाग्री मात्र पानी पुग्थ्यो । यो देखेर प्वाल भएको गाग्री सारै निरास थियो । 

एक दिन उक्त प्वाल भएको गाग्री ले किसान लाई निराश र भावुक  हुँदै भन्यो : तपाइँ येत्रो मेहनत गरेर तेति टाढा बाट पानी ल्याउनु हुन्छ तर मैले मेरो कमजोरीको कारणले जम्मा आधा गाग्री पानी मात्र घर पुर्याउन सक्छु । गाग्री पुनः निराश भयो । यो देखेर किसान ले उक्त गाग्री लाई पानी लिएर फर्किदा बाटोमा देखिने फुलहरु हेर्न सुझाव दियो । भोलीपल्ट फर्किदा प्वाल भएको गाग्रीले बाटाका फुलहरु हेर्दै फर्कियो । गाग्रीको मन हलुको भयो । तर जब घर पुग्यो फेरि आधा गाग्री पानी मात्र पुर्याएकोमा पुन: निराश हुन लाग्यो । 

यो देखेर किसानले गाग्री लाई भन्यो :  तिमिले ध्यान दिएर बाटाका सम्पुर्ण फुलहरु हेर्दै आउनु भनेर सुझायो । किसानले भने अनुरुप गाग्रीले बाटाका सवै फुलहरु हेर्दै आयो । जब घर पुग्यो तब किसान ले गाग्री लाई सम्झाउदै भन्यो कि बाटामा प्वाल भएको गाग्रीतर्फ विभिन्न रङ्ग र सुगन्धका नाना थरीका फुलहरु थिए । तर सग्लो गाग्री तर्फ एउटा पनि फुलहरु थिएनन र उसले भन्यो कि उसलाइ गाग्रीमा प्वाल भएको पहिल्यै थाहा थियो । उसले गाग्रीको कमजोरी लाई शक्तिमा  बदल्ने प्रयत्न गर्यो र पानी चुहिने तर्फ बाटोको किनारमा विभिन्न फुलहरुको बीउ तथा बिरुवाहरु रोप्यो । जसै किसान पानी लिएर फर्कन्थ्यो उक्त गाग्री बाट पानी चुहिएर बीउ तथा बिरुवाहरु सिन्चित हुन्थे र फुलहरु फुल्न थाल्थे । किसानले पुन: सम्झाउदै भन्यो : तिम्रै कारणले आज बाटामा फुलहरु ढकमक्क फुलेका छन र मैले भगवानलाई चढाउन पाएको छु । घर सजाउन पाएको छु । येति भने पछी प्वाल भएको गाग्रीले मन प्रफुल्लित बनाउदै आफ्नो कमजोरीले दिएको योगदान प्रती गर्व महशुस गर्न थाल्यो ।

शिक्षा : हामी सवैको भित्र केही न केही कमजोरीहरु हुन्छन । तर यिनै कमजोरीले हामीलाई अरु भन्दा पृथक तुल्याउछ ।

उक्त किसानको जस्तै जो जस्तो अवस्थामा छ सोही रुपमा स्विकार गर्नु पर्छ न कि तिरस्कार । कमजोरी खोतल्न भन्दा खुबी पत्ता लगाउन तर्फ धान दिनु पर्छ र जब हामी यस्तो गर्छौं तब  "प्वाल परेको गाग्रो सग्लो गाग्रो भन्दा मुल्यवान हुन्छ ।"
Read more ...

Friday, May 1, 2026

बुद्ध जयन्ती र उभौली: शान्ति, प्रकृति र नेपाली संस्कृतिको सङ्गम

नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक विशेषताले भरिएको एउटा सुन्दर देश हो। यहाँका हरेक चाडपर्वले विशेष अर्थ र सन्देश बोकेका हुन्छन्। यसै सन्दर्भमा, बैशाख शुक्ल पूर्णिमाको दिन नेपालमा दुईवटा अत्यन्तै महत्वपूर्ण पर्वहरू मनाइन्छन्— बुद्ध जयन्ती र उभौली। यी दुवै पर्वले एकातिर आध्यात्मिक शान्तिको सन्देश दिन्छन् भने अर्कोतिर प्रकृति र मानवबीचको अटुट सम्बन्धलाई उजागर गर्छन्।

बुद्ध जयन्ती: 

विश्व शान्तिको ज्योति बुद्ध जयन्तीलाई 'बैशाख पूर्णिमा' वा 'बुद्ध पूर्णिमा' पनि भनिन्छ। यो दिन विश्वभरका बौद्ध धर्मालम्बी र शान्तिप्रेमीहरूका लागि सबैभन्दा पवित्र दिन हो। भगवान गौतम बुद्धको जीवनका तीन प्रमुख घटनाहरू—जन्म, ज्ञान प्राप्ति (सम्बोध), र महापरिनिर्वाण (मृत्यु)—यसै तिथिमा परेकाले यस दिनको महत्त्व अगाध छ।

१. बुद्धको संक्षिप्त जीवनी र त्याग

इसापूर्व ५६३ मा कपिलवस्तुको लुम्बिनी उद्यानमा सिद्धार्थ गौतमको रूपमा बुद्धको जन्म भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीका पुत्र सिद्धार्थले २९ वर्षको उमेरमा संसारको दुःख (रोग, बुढ्यौली, र मृत्यु) देखेपछि त्यसको कारण खोज्न राजसी सुखत्याग गरे। लामो समयको कठोर तपस्यापछि ३५ वर्षको उमेरमा भारतको गयामा एउटा पिपलको रूखमुनि उनले 'बोधि' अर्थात् सर्वोच्च ज्ञान प्राप्त गरे।

२. बुद्धका शिक्षाहरू: आजको आवश्यकता

बुद्धले संसारलाई 'चार आर्य सत्य' र 'अष्टांगिक मार्ग' को शिक्षा दिए। उनले तृष्णा (लोभ) नै दुःखको कारण हो र यसलाई मध्यम मार्ग अपनाएर त्याग्न सकिन्छ भन्ने कुरा सिकाए। "अहिंसा परमो धर्म" (अहिंसा नै सबैभन्दा ठूलो धर्म हो) बुद्धको मुख्य सन्देश हो। आजको अशान्त विश्वमा बुद्धका करुणा, मैत्री, र शान्तिका शिक्षाहरू झन् बढी सान्दर्भिक भएका छन्।

३. कसरी मनाइन्छ ?

यस दिन नेपालको लुम्बिनी, स्वयम्भू, बौद्धनाथ लगायत देशभरका गुम्बा र विहारहरूमा विशेष पूजाआजा गरिन्छ। मानिसहरू दीप प्रज्वलन गर्छन्, ध्यान बस्छन् र पञ्चशीलको पालना गर्ने संकल्प गर्छन्। 'बुद्धं शरणं गच्छामि' को गुञ्जनले वातावरण शान्तमय बन्दछ।

उभौली पर्व: 

किरात समुदायको प्रकृति पूजा

बुद्ध जयन्तीकै दिन नेपालका भूमिपुत्र मानिने किरात समुदाय (राई, लिम्बु, सुनुवार, र याख्खा) ले आफ्नो महान् पर्व 'उभौली' हर्षोल्लासका साथ मनाउँछन्। किरात धर्म र संस्कृति पूर्ण रूपमा प्रकृतिमा आधारित छ, र उभौली यसकै एउटा जीवन्त उदाहरण हो।

१. उभौलीको अर्थ र महत्त्व

किरात भाषामा 'उभौली' को अर्थ 'उभो लाग्नु' वा माथितिर जानु हो। गर्मी महिना सुरु भएसँगै पशुपन्छी र माछामासुहरू गर्मी छल्न लेकतिर (माथितिर) बसाइँ सर्ने समयलाई उभौली भनिन्छ। यो खेतीपाती लगाउने समय पनि हो। कृषकहरूले अन्नबाली राम्रो होस्, अनिकाल नलागोस्, र प्रकृतिले साथ दिऊन् भनी भूमिको पूजा गर्छन्।

२. साकेला/साकेनवा नृत्य

उभौलीको मुख्य आकर्षण 'साकेला' वा 'साकेनवा' नाच हो। हातमा झ्याम्टा, ढोल र सेउली लिएर परम्परागत भेषभूषामा सजिएका किरातहरू गोलो घेरा बनाएर नाच्छन्। यस नाचमा चराचुरुङ्गीको नक्कल, खेतीपाती गरेको अभिनय, र पुर्खाहरूको सम्मान झल्किन्छ। उनीहरू 'साकेन्वा' (प्रकृति/भूमि) को आराधना गर्दै सबैको कल्याणको कामना गर्छन्।

बुद्ध जयन्ती र उभौलीबीचको रोचक सम्बन्ध

यद्यपि यी दुई पर्व फरक-फरक दर्शनमा आधारित देखिए पनि यिनका बीचमा केही सुन्दर समानताहरू छन्:

प्रकृतिसँगको सामीप्य: 

बुद्धले रुखमुनि ज्ञान पाए र रुखमुनि नै महापरिनिर्वाण प्राप्त गरे। उता किरात समुदायले रुख, ढुङ्गा र माटोलाई नै देउता मानेर पूजा गर्छन्। दुवैले प्रकृति संरक्षणको कुरा गर्छन्।

अहिंसा र सद्भाव: 

बुद्धले प्राणी हिंसाको विरोध गरे। उभौलीमा पनि जगतका सबै प्राणीको रक्षा र सहअस्तित्वको कामना गरिन्छ।

नेपाली एकताको प्रतीक: 

नेपालमा बुद्ध जयन्ती र उभौली एकै दिन पर्नुले यहाँको धार्मिक सहिष्णुता र जातीय एकतालाई बलियो बनाएको छ। बौद्ध र किरातहरू एक-अर्काको पर्वमा सहभागी भएर खुसी साटासाट गर्छन्।

वर्तमान सन्दर्भ र संरक्षण

आजको आधुनिकीकरण र प्रविधिको युगमा हाम्रा यी मौलिक परम्पराहरू संकटमा पर्न सक्छन्। युवा पुस्ताले बुद्धको शान्ति मार्ग र किरातहरूको प्रकृति पूजाको मर्मलाई बुझ्न जरुरी छ।

शान्तिको खाँचो: 

संसारभर भइरहेका युद्ध र द्वन्द्वलाई कम गर्न बुद्धको अहिंसा र करुणाको सन्देशलाई विश्वव्यापी बनाउनु पर्छ।वातावरण संरक्षण: जलवायु परिवर्तनको यो समयमा उभौलीले दिने 'प्रकृति बचाउ' को सन्देश निकै महत्वपूर्ण छ। यदि हामीले धर्ती (भूमि) लाई बचाउन सकेनौँ भने मानव अस्तित्व नै खतरामा पर्नेछ।

निष्कर्ष

बुद्ध जयन्ती र उभौली केवल बिदा मनाउने दिन मात्र होइनन्। यी त हाम्रो इतिहास, संस्कार, र नेपाली हुनुको पहिचान हुन्। बुद्ध जयन्तीले मनलाई सफा र शान्त राख्न सिकाउँछ भने उभौलीले हामी उभिएको माटो र वरपरको वातावरणलाई माया गर्न सिकाउँछ।यी दुवै पर्वले हामीलाई जात, धर्म र भूगोलभन्दा माथि उठेर 'मानवता' र 'प्रकृति प्रेम' मा बाँधिन प्रेरित गर्छन्। यस पावन दिनमा हामी सबैले बुद्धको करुणा र किरातहरूको प्रकृति प्रेमलाई आत्मसात गर्दै समृद्ध र शान्त नेपाल निर्माणको बाटोमा लाग्ने संकल्प गर्नुपर्छ।


मिति २०८३ साल बैशाख १८ गते बुद्द पुर्णिमा 

Read more ...

Thursday, March 19, 2026

प्रगतिको बाधक

 

एउटा कम्पनीमा काम गर्ने सबै कर्मचारी अफिस बाहिर जम्मा भएका थिए । बाहिर ढोकामा एउटा सूचना टाँसिएको थियो । सूचना यस प्रकार थियो -' हिजो यस कम्पनीमा तपाईंहरूको प्रगतिलाई अवरोध गर्ने मानिसको निधन भयो ।' सबै कर्मचारी मित्रहरूलाई श्रद्धान्जलीका लागि उपस्थित भइदिन अनुरोध छ। '

सुरूमा त सहकर्मीको मृत्युको समाचारले सबैलाई दुखी बनायो । तैपनि सबै जान्न आत्तुर थिए , आखिर त्यो मान्छे को रहेछ जो उनीहरूको प्रगतिको बाधक थियो । सबैले एकछिन सोचे- 'कमसेकम त्यो मान्छे त मर्यो जसले हाम्रो प्रगति रोकेको थियो ।'

एक एक गरेर कर्मचारीहरू कफिन नजिक गए । जब उनीहरूले कफिनभित्र हेरे सबै अचम्मित र स्तब्ध भए । कुनै चिजले उनीहरूको अन्तरआत्मालाई छोयो ।

कफिनभित्र एउटा ऐना थियो । सबैले त्यो ऐनामा आफ्नो अनुहार देखे ।

ऐनासँगै एउटा कागजमा लेखिएको थियो - 'तिम्रो प्रगतिको बाधक कोही छ भने त्यो तिमी नै हौँ । अरू कोही तिम्रो प्रगतिका लागि बाधक हुन सक्दैन । '

हाम्रो जीवन परिवर्तन हुँदैन तब सम्म जबसम्म हामी परिवर्तन हुँदैनौँ । हाम्रो जीवनका लागि हामी जिम्मेवार छौँ, अरू होईन ।

एउटा फुल जब बाह्य बलले फुट्छ जीवन समाप्त हुन्छ तर जब यो भित्री बलले फुट्छ जीवन सुरू हुन्छ ।


मिति २०८२/१२/०५ 



Read more ...

Sunday, May 11, 2025

आफ्नो महत्व चिनौ

एक दिन माली आफ्नो बगैचामा पुग्यो । तर अचम्म त्यहाँ पूरै रुख बिरुवाहरू निराश थिए । डिलमा रोपिएको धुपी सल्लाले निन्याउरो मुख लगाउँदै भन्यो- माली ज्यू, म अब मर्दैछु । माली ले सोध्यो- किन, किन मर्दैछौ? किन बाँच्नु त, आखिर सल्ला भन्दा अग्लो हुन पाए पो बाँच्नुको सार हुन्छ । माली सल्लाको नजिकै गयो, सल्ला पनि खुसी थिएन, सल्लाले भन्यो- माली ज्यू, लालुपाते जस्तै रङ्गीन फूल फुल्न पाए पो बाँच्नुको सार हुन्छ, यसरी बेरङ्गी भएर के बाँच्नु ? मत अब मर्ने सोच्दैछु । माली लालुपाते नजिकै गयो, लालुपाते पनि खुसी थिएन निराश चेहरामा लालुपातेले भन्छ- अङ्गुर जस्तै रसिलो फल दिन पाए पो बाँच्नुको औचित्य हुन्छ, यस्तो फल बिनाको फुलको के काम, शायद म केही दिनमा संसार छोडेर जान्छु होला । ऊ अङ्गुरको नजिकै गयो, अङ्गुरको पनि हालत खराब थियो, मसिनो स्वरमा अङ्गुरले बोल्यो,धुपी जस्तै सधैं हरियो भएर उभिन पाए पो बाँच्नुको अर्थ हुन्छ, यस्तो लहरो भएर अरूको भरमा के जिन्दगी जिउनु ? शायद एक दुई दिन पनि हजुरले मलाई यहाँ देख्न पाउनुहुन्न । माली दिक्क भयो, एकै छिनमा उसले भुइँतिर हेर्यो भुइँमा दुँबो मज्जा सँज मौलाएको थियो, दूबो अरु जस्तो दुखी र निराश पनि थिएन । मालीले दुबोलाई सोध्यो तिमी किन खुसी छौ, बगैचाका अरू बोट बिरुवाहरू त निक्कै दुखी छन त ? दूबोले मुसुक्क हाँस्दै भन्यो- म खुसी छु किनकी मैले कहिलै पनि आफूलाई अरूसँग तुलना गर्दिन । म जस्तो छु त्यस्तैमा खुसी छु र आफू हुनुमा म गर्व गर्छु । मलाई लाग्छ कि मालीले मलाई रोप्ने निर्णय गरे किनकी उनले मबाट केही चाहन्थे, यदी उनले धुपी,लालुपाते,अङ्गुर अथवा गुलाव चाहेका भए त मेरो ठाउँमा तिनै रुख रोप्नु पर्ने नि,किन मलाई नै रोपे ? किनकी मसँग त्यस्तो कुरा छ जो अरूसँग छैन । यसर्थ म अरू जस्तो बन्न खोज्दिन। म जस्तो छु त्यस्तै बनिरहन्छु र यसैमा म खुसी पनि छु । जब म जे होइन त्यो बन्न खोज्छु, त्यो आफ्नै बिनास निम्त्याउने सोच बाहेक अरू केही होइन । तिमी जस्तो छौ त्यही स्वरुपमा स्वीकार गर्छौ र आफ्ना गुण तथा विषेशताहरू लाई मलजल गर्छौ भने तिमी संसारकै उक्रिष्ट सिर्जना बन्छौ, जब तिमी अरूको नक्कल गर्न खोज्दछौ तिमी कहिलै पनि सन्तुष्ट र उत्कृष्ट बन्न सक्दैनौ । भनिन्छ नि  नमिठो आवाज नै भए पनि आवाजमा आफ्नो मौलिकता भएकाले काग सधैं स्वतन्त्र हुन्छ तर तर अरूको आवाज नक्कल गर्न खोज्ने सुगा सधैं पिञ्जडामा कैद हुनुपर्छ । आफू जे होइन त्यो बन्न खोज्ने बहानामा कैयौँले आफ्नो वास्तविक स्वरुपको हत्या गरिरहेका छन । जब लालुपाते लालिगुराँस बन्न खोज्दछ तब नत त्यो लालीगुराँस बन्छ नत लालुपाते नै रहन्छ ।

Read more ...

Thursday, December 19, 2024

आश गरेर बस्नु भन्दा कर्म मा बिस्वास गर्नुस

एउटा किसानको सुन्दर मकैबारी थियो । त्यस मकैबारीमा एक भँगेराले गुँड बनाएर आफ्ना बचेँरा हुर्काइरहेको थियो । समय बित्दै गयो, मकै बाली पनि बिस्तारै छिप्पिएर स्याहार्ने बेला हुन थाल्यो । एक दिन भँगेराको बच्चाले आफ्नी आमालाई भने-" आमा आमा, अब त किसानले मकै बाली स्याहार्ने बेला पनि भयो अब हामी गुँड छोडेर टाढा जानु पर्छ है । अब हामी यहाँ बस्नु सुरक्षित हुन्न ।" कुरा सुनेर आमा भँगेरीले भनी-" छोरा छोरी हो तिमीहरू न आत्तिओ । किनकी अहिले नै गुँड छाडी हाल्नु पर्ने जरुरी छैन ।"
 त्यो दिन आमा भँगेरी चारा खोज्न गई । दिउँसो किसान मकैबारीमा आयो र भन्यो-"भोलि मेरा सबै छिमेकिहरूलाई बोलाएर मकै बाली स्याहार्नु पर्‍यो ।" बच्चाहरूले किसान बोलेको सुने,उनिहरूलाई पूर्ण विश्वास भयो कि आफूहरूले आमालाई गुँड सर्न दिएको सुझाब शत प्रतिशत ठीक छ । तैपनी आमाले किन गुँड सर्ने बेला भएको छैन भनेकी होलिन । उनिहरू अचम्म परे । बेलुकी आमा आइन बचेँराहरूले सुनाए-"आमा आमा, किसानले भोलि छिमेकिहरू बोलाएर मकै स्याहार्ने भनेको छ, हामी अब ठाउँ छोड्नु पर्छ ।" आमा भँगेरीले प्रतिप्रश्न गरी-"छिमेकी ??" बचेँराले भने "अँ ।"
 आमा भँगेरी आज पनि ढुक्कका साथ बोली-"तिमीहरू न आत्तिओ छोराछोरी हो,अहिले नै गुँड सर्नु पर्ने कुनै जरुरी छैन ।" नभन्दै भोलिपल्ट किसानले हिजो भने बमोजिम कोही पनि छिमेकी मकै स्याहार्न आएनन । केही दिन पछी फेरि किसान बारीमा आएर बर्बरायो - "अब त साह्रै ढिला भयो, भोलि सबै आफन्त र दाजुभाइहरूलाई बोलाएर मकै बाली स्याहार्नु पर्‍यो ।" भँगेराका बचेँराले किसानका कुरा सुने । साँझ आफ्नी आमालाई सँग बिन्ती गरेँ-"आमा आमा, अब त अति भो । किसानले आज आफन्त र दाजुभाइ बोलाएर बाली काट्ने भनेको छ । अब हामी यहाँ बस्नु हुन्न । छिटो भन्दा छिटो गुँड छोडेर जाऔँ ।" भँगेरीले प्रतिप्रश्न गरी "दाजुभाइ र आफन्त ??" बचेँराले भने-"अँ ।"
 आमा भँगेरी मुस्कुराएर भनी-"चिन्ता नमान छोराछोरी हो जे भए पनि म तिमीहरूकी आमा हुँ, के मैले कुरा बुझ्दिन होला र ? के म लाटी छु होला र ? लेखेर राख कि भोलि कोही पनि बाली काट्न आउनेवाला छैन, त्यसैले अहिले नै भागेर कतै जानु जरुरी छैन, ढुक्क भएर सुत  ।" बच्चाहरूले कुरै बुझ्न सकेनन आमाको । 
२/४ दिन पछी फेरि किसान बारीमा आयो र हात टाउकोमा राख्दै बर्बरायो-"अब त अति भो, कसैले पनि मलाई मद्दत गर्न आएनन, अब भोलि आँफैले मकै बाली स्याहार्न सुरु गर्नु पर्‍यो ।"
 बेलुका बच्चाहरूले आमालाई सुनाए-"आमा आमा भोलि त किसान आँफै बाली काट्न आउने भनेको छ , के अझै हामी गुँड छोडेर जाने बेला भएको छैन ?" यो चोटि आमा भँगेरीले ठूला ठूला आँखा बनाई र भनी -"ए हो र ? त्यसो पो भन्यो किसानले ? भनेपछी भोली ऊ आँफै आउने रे ? लौ लौ तयार होउ, अब चाँही साँच्चिकै गुँड छोड्ने बेला भयो ।" नभन्दै भोलि पल्ट्ट किसानले सबै मकैका बोट एक एक काटेर बाली भित्र्याउन थाल्यो भने उता भँगेराको परिवारले पनि आफ्नो गुँडलाई बिहानै अन्य सुरक्षित स्थान तर्फ सारिसकेको थियो। यो सबै घटनाक्रम नजिकबाट देखेका भँगेराका बच्चाहरू आफ्नी आमाले बुद्धिमता पूर्वक चालेका कदमहरूका साक्षी थिए । उनिहरूले जिज्ञासा पूर्वक सोधे -"आमा आमा, तपाईंले छिमेकी र दाजुभाइ बाली भित्र्याउन आउँछन भन्दा पत्याउनु भएन तर किसान स्वयम आउछु भन्दा किन पत्याउनु भयो ?" आमा भँगेरिले हाँस्दै जवाफ दिई, -"छोरा छोरी हो हामीले कहिलै पनि अरुको बाटो कुर्नु हुन्न अरुको आशामा बस्ने मान्छेले प्राय: धोका र निराशा सिवाय केही पाउदैन तर जसले आँफै सकृयता देखाउँछ र आफ्नो पाखुरीमा विश्वाश गर्छ हो त्यसैले मात्र आँटेको काममा सफलता पाउँछ । मलाई थाहा छ नि यी मान्छेहरू कति धोकेवाज हुन्छन भन्नेकुरा । मैले धेरै पटक देखेको छु कि कुनै काम गर्नको लागि अरुको बाटो मात्र हेरिरहने, अरुको मात्र मुख ताकिरहने । अरुले गरिदेला र खाउँला भनेर बस्ने आफूले चाँही सिन्को पनि नभाच्ने मान्छेले आखिरीमा निराशाको उपहार बाहेक अरु केही पाउदैन । जसले आफूलाई साथ दिन्छ उसलाई इश्वरले पनि साथ दिन्छन । " आफ्नी आमाको कुरा सुनेर भँगेरीका बच्चाहरू दङ्ग परे ।
 हो, हामी अरुको भर पर्नु पर्छ तर अरुको मात्र भर पर्नु हुन्न । ख्याल गर्नुस् है मेरो भनाइमा भिन्नता छ । हामी अरुको भर पर्नु पर्छ तर अरुको मात्रै भर पर्नु हुन्न । मुख्य कुरा त आफू हो ।जब सम्म आँफै सकृयता देखाइदैन तब सम्म केही पनि काम हुन सक्दैन । आँफै होला या त अरुले गरिदेला भनेर पर्खेर मात्र बस्ने हो भने केही पनि हुनेवाला छैन । आफ्नो लागि आँफै तम्तयार हुनुपर्छ,आफै उठ्नुपर्छ,आँफै जुट्नुपर्छ । तिम्रो पेटको लागि अरुले खाइदिएर पुग्दैन, तिम्रो स्वास्थ्यका लागि अरुले योगा गरिदिएर हुँदैन,तिम्रो शरीरको लागि अरुले जिम गरिदिएर हुँदैन । तिम्रो रोगको लागि अरुले अस्पतालमा सुतेर हुँदैन । अनि तिम्रो भबिश्यको लागि अरुले चिन्ता लिएर हुन्छ त ? तिमी आँफैले चिन्ता लिनु पर्छ , तिमी आँफैले प्रयास गर्नु पर्छ । शक्तिशाली जङ्गलको राजा भनेर के गर्नु प्रयास नगरेसम्म त सिंहकै मुखमा पनि शिकार आएर पस्दैन । मिहिनेत नै नगरिकन सित्तैमा मुखमा आउने त केवल झिङा मात्र हो । झिङा... सफलताको लागि त मिहिनेत गर्नु पर्‍यो नि भाई आँफैले ।
Read more ...

Thursday, October 26, 2023

बैंक तथा वित्तीय संस्था को अर्थ र इतिहास

बैंक तथा वित्तीय संस्था यस्तो संस्था हो, जहाँ मानिसहरुले आफ्ना धनराशी जम्मा गर्ने गर्दछन् । तथा आवश्यक पर्दा ऋणको रुपमा चल अचल पूँजी निकाल्न सक्दछन् । आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकवाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । जनताले आफूले बैंकमा जम्मा गरेको धनराशी पुर्व निर्धारित बैंकिङ नियम पुरा गरि निकाल्न र पुनः राख्न पनि सक्दछन् । कसैलाइ कर्जा आबश्यक परेको खण्डमा आवश्यक प्रकृया पुरा गरी ऋण लिन सक्दछन् । विशेषत मुद्राको कारोबार वा लेनदेन गर्ने गरी प्रचिलत कानुन बमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । प्रयोगात्मक नेपाली शब्दकोश २०६१ मा चाहेको बेला झिक्न पाउने गरी राखिदिने ब्याजमा ऋण दिने आदि आर्थिक कारोबार गर्ने संस्थालाइ बैंक भनिएको छ । बैंक तथा वित्तिय संस्था को आवस्यकता लाई निम्न वमोजिम उल्लेख गर्न सकिन्छ :

            ➽ आर्थिक शोषणबाट जनतालाई मुक्ती दिलाउन

             ➽ उद्योयोगधन्दा एबम ब्यापारको बिकास गर्न

            ➽ आर्थिक विकास गर्न

            ➽ बहुमुल्य बस्तु एबम धनको सुरक्षा प्रदान गर्न

            ➽ कोषको स्थानान्तरण गर्न

            ➽ रोजगार एबम् सीपमुलक ब्यवसायको सृजना गर्न

            ➽ बचत गर्ने बानिको बिकास गर्न

            ➽ अर्थब्यवस्थाको मौद्रिकीकरण गर्न

            ➽ कृषि एवम् पिछडिएको क्षेत्रको विकास गर्न

            ➽ समग्र रुपमा आर्थिक सन्तुलन कायम गर्न

            ➽ विदेशी मुद्राको बिनियम एबम नियन्त्रण गर्न

            ➽ मुद्राको ब्यबस्थापन एबम कर्जामा नियन्त्रण र मुल्यमा स्थिरता कायम गर्न

 बैंक तथा वित्तीय संस्था को अबधारणात्मक बिकास 

ईतिहासका पाना पल्टाउँदै जाने हो भने समय अन्तरालमा मानिसले गरेको विनिमयहरु निकै रोचक पनि लाग्छन् । आजका दिनसम्म आईपुग्दा मानिसहरुले धेरै थरीका विनियमय गरेको भेट्न सकिन्छ । लामो समयको घुमन्ते र जंगली तथा झुण्डमा जीवन व्यतित गरेको  समाजले त्यसबखत विनिमय भन्ने कुनै अवधारणा अवलम्बन गरेको थिएन । यद्यपी समयकाल बित्दै जाँदा जब खेतिपाती गर्ने यूगमा मानवको प्रवेश भयो, तब क्रमिक रुपमा श्रम विभाजन हुन थाल्यो । विस्तारै मानिसहरुले आफ्ना आवश्यकता पुरा गर्नको लागि वस्तु विनिमय अर्थात् आ–आफ्ना सामान एकअर्कासँग साटासाट गरी आफ्ना आवश्यकता पूर्ति गर्न थाले । त्यस समयमा पैसाको चलनचल्ती नै थिएन । 

➽ मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तुसँग चाहेको वस्तु साट्नुपर्ने चलन थियो । अर्थात् वस्तुसँग वस्तु साटासाट गर्नुपर्ने चलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्था आयो भने कुनै अर्को व्यक्तिलाई गहुँ चाहिएको छ, तर उसँग धान मात्रै छ भने, मात्रै उनिहरुबिच वस्तु विनीमय सम्भव थियो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो । अर्थात् वस्तु साटासाट हुनका लागि दुवैथरि एक अर्कासँग भएको वस्तु साटासाट गर्न इच्छुक हुनुपर्ने बाध्यता थियो । समयको लामो कालखण्ड पछि वस्तु विनिमयका यावत् समस्याहरु मुद्राको प्रतिपादनले क्रमिक रुपमा हटाउँदै लग्यो । 

➽ विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । 

➽ वस्तु विनिमयबाट कौडिमा रुपान्तरण भएको कारोबार विस्तारै मुद्राको युगको सुरुवातमा पुग्यो । आजसम्ममा प्राप्त नेपाली मूद्राहरुमा ईस्वी पाचौं शताब्दीका राजा मानदेवले चलाएको ‘मानाङ्क’ मुद्रा नै सबैभन्दा प्राचिन मुद्रा हो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मानिसले कल्पना गरेभन्दा बढी योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । यस प्रचलनले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो भयो । यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

➽ त्रिभुवनका पालामा कागजी नोटनेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

➽ नेपालमा बैंकको संस्थागत सुरुवात वि.सं.१९९४ कार्तिक ३० गतेका दिन राजा त्रिभुवनबाट नेपाल बैंकको उद्घघाटन भएको थियो  । यसैबाट नेपालमा संस्थागत रूपमा बैंकिङ्ग सेवाको सुरुवात भएको थियो । बैंक स्थापना हुनुभन्दा पहिलेसम्म सम्पूर्ण मौद्रिक कारोबारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्दथ्यो । उक्त समयमा नेपाल बैंकले ‘क’ वर्गको इजाजत प्राप्त गरी १२ जना कर्मचारी र रामशाहपथबाट एउटै कार्यालयबाट कारोबार सुरु गरेको थियो । नेपालमा पहिलो पटक बैंक स्थापना अवसरमा बोल्दै तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले राजा त्रिभुवनको आज्ञाले सम्पूर्ण देशको चाहाना अनुरूप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका थिए । योे भन्दा अघि नेपालमा कुनै बैंक खोल्न सकिएको थिएन । तसर्थ उक्त आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेड नाममा नेपाल बैंक श्री ५ बाट उद्घाटन भएको थियो । यो क्षणलाई नेपाली बैंकिङ क्षेत्रको अत्यन्तै आनन्द तथा खुशीको क्षण मानिन्छ । स्थापना कालदेखि नै यस बैंकले धनि गरीब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको थियो । त्यस समयमा औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझेका थिए । भने धेरै कम मात्र बैंकप्रति विश्वस्त थिए । हकप्रद शेयर उठाउन र निक्षेप परिचालन गर्न त्यति सजिलो थिएन । जसको परिणामस्वरूप बैंकले २५ लाख रुपैयाँ मुल्यको हकप्रद शेयर निष्कासन गरेकोमा ८ लाख ४२ हजार रुपैयाँ मात्र उठाउन सफल भएको थियो । 

➽ नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उद्देश्यका साथ यस बैंकको स्थापना एवं सञ्चालनको लागि यो कानून समेत जारी गरिएको बताईन्छ । बैंक स्थापनाको प्रथम वर्ष कुल निक्षेप १७ लाख २ हजार पच्चीस रुपैयाँ रहेकोमा चल्ती निक्षेप करिव १२ लाख ९८ हजार ८ सय ९८ रुपैयाँ मुद्दती निक्षेप,  ३ लाख ८८ हजार ९ सय ६४ रुपैयाँ तथा वचत निक्षेप १४ हजार १ सय ६३ रुपैयाँ रहेको थियो । प्रथम वर्षको अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा १९ लाख ८५ हजार रुपैयाँ रहेको थियो । नेपाल बैंक लिमिटेड स्थापनाकाल देखि नै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक हो । १०० रुपैयाँ परल मुल्यका २५०० हकप्रद शेयरहरू मध्ये ४० प्रतिशत शेयरमा सरकारको लगानी थियो भने बाँकी ६० प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैंक सञ्चालनको सुरुमा केवल १० जना शेयरधनीहरू मात्र रहेका थिए । यो बैंक नेपाल सरकार तथा निजी लगानीकर्ताहरूको संयुक्त लगानीमा स्थापना भएको हो । 

➽ अन्य बैंकहरुस् नेपाल बैंक स्थापना भएको १९ बर्षको अन्तरालपछि वि.सं. २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो । त्यसपछि बैंकिङ क्षेत्रको विस्तार हुने क्रम बढ्दै गयो । वि.स २०१६ सालमा नेपाल औद्योगिक विकास निगमको स्थापना भयो भने २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैंक र २०२४ सालमा स्थापित कृषि विकास बैंकले बैंकिङ क्षेत्रको विकासको क्रममा महत्वपूर्ण इतिहास कायम गर्न सफल भए । यसै क्रममा बैंकिङ क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगबाट सुचारु गर्नको लागि नेपाल राष्ट्र बैंकको ऐन २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा नयाँ आयाम ल्याएको छ । यसरी २०४० को दशकको उदारवादी सोचले नेपालको बैंकिङ क्षेत्रमा ल्याएको चेतना र विकास अतुलनीय बन्न गयो । हाल नेपालमा ११२ हाराहारीमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय कारोबार गर्ने अन्य संस्थाहरु रहेका छन् । 

➽ आधुनिक युग विनिमयमा थप सरलतास् आधुनिक बैकिङ्ग पद्धतिको विकाससंगै चेक, प्लास्टिक मूद्रा (डेविट कार्ड, क्रेडिट कार्डं) इलेक्ट्रोनिक बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मोबाईल बैंकिङ समेतको विकास भइसकेको छ । अन्तर्रा्िष्ट्रय व्यापारको विविधतासँगै मुद्रा प्रचलनको सहजताका लागि विभिन्न अन्तर्रा्िष्ट्रय मुद्राहरुमध्ये अमेरिकी डलरलाई आधार मुद्राको रुपमा लिई अन्तर्रा्िष्ट्रय व्यापार गरिँदै आएको छ । विश्व व्यापारीकरणसँगै एक अर्कामा परनिर्भर बन्दै गएको बढ्दो अन्तराष्ट्रिय व्यापारिक कारोबारलाई जीवन्तता दिन आधुनिक बैकिङ्ग प्रणालीले नयाँ पद्धतिहरु अपानाएर दिएको सेवाले मानव जीवनलाई निकै सहज तुल्याएको छ । मुद्रा अब कुनै राष्ट्रको सिमाभित्र मात्र सीमित नरही यसको अन्तरसम्बन्ध पनि त्यतिकै महत्वको विषय बनिसकेको छ । तसर्थ प्रत्येक राष्ट्रले निश्चित अन्तर्रा्ष्ट्रिय मुद्राहरुलाई विनिमय योग्य मान्दै ती मुद्राहरुको परिपत्र दर सोहि देशको केन्द्रीय बैंकले निर्धारण गर्ने गर्दछन् । 


त्रिभुवन विश्वविद्यालय, कानुन सङ्काय अन्तर्गत स्नातक तह तेश्रो वर्ष  का लागि नेपाल ल क्याम्पस, प्रदर्शनिमार्ग, काठमाण्डौ मा पेश गरिएको शोध पत्र (प्रतिवेदन) : नेपाल मा लघुवित्त क्षेत्रमा रहेका कानुनी व्यवस्था हरु को विषयमा एक अध्ययन (२०७५) बाट साभार गरिएको 

 



Read more ...
Designed By Basanta Subedi